लीलादेवी गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव

सहयात्रा टिभी

काठमाडौं । साउन १३, बिहीबार लीलादेवी गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव नियुक्त भइन् ।

मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेसँगै उनी सचिवका रुपमा कुनै मन्त्रालयको जिम्मेवारी नलिई एकै पटक मुख्यसचिव बनेकी छन् ।

नेपालको निजामती प्रशासनमा २६ जना मुख्यसचिव बनिसके, तर एक जना पनि महिलाले यो अवसर पाएका थिएनन् । २६ पुस २०५२ मा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेकी गड्तौला ३ कात्तिक २०६३ मा उपसचिव बनेकी थिइन् ।

उनले न्याय सेवामा कानुन अधिकृतमा एक नम्बरमै नाम निकालेकी थिइन् । उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् ।

सहसचिवको प्रतिस्पर्धामा भने उनले एक पटक फेल भएपनि दोस्रोपटक नाम निकाल्न सफल भइन् । ‘त्यतिबेला फेल भए पनि आज त्यसैकारण उपहार पाएँ’, मुख्यसचिव गड्तौलाले बिहीबार एक सार्वजनिक कार्यक्रममा भनिन् ।

९ माघ २०७० मा सहसचिवमा बढुवा भएकी गड्तौला २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । न्याय सेवाको सचिवका रुपमा उनले आफ्नो चाहानाअनुसार अवसरहरु भने पाइनन् । सहसचिवका रूपमा काम गरेको कानुन मन्त्रालयमा उनले सचिवका रूपमा भने जिम्मेवारी लिएर जान नै पाइनन् ।

न्याय सेवाका सचिवहरु कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र पदस्थापन हुन्छन् ।

आगामी १५ भदौमा ५८ वर्षे उमेर हदका कारण उनी अवकाश हुँदै छिन् । मुख्यसचिवको पदावधि ३ वर्षको हुने भए पनि उनको सेवा अवधि अब जम्मा ३७ दिनमात्र छ ।

अवकाश हुन २ महिना बाँकी रहँदा १० असार २०८० मा तत्कालीन मुख्यसचिव डा। वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेसँगै उनको करिअरले नयाँ मोड पायो । अर्यालको निलम्बनसँगै प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये वरिष्ठताका आधारमा उनी निमित्त मुख्यसचिव बनिन् ।

एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकारको पहिलो मन्त्रिपरिषद बैठक (३१ असार) ले उनलाई कायममुकायम मुख्यसचिव नियुक्त गर्ने निर्णय गर्‍यो । स्वभाविक दाबेदार हुँदा पनि मन्त्रालयको सचिव समेत हुन नपाएकी गड्तौलालाई बिहीबारको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गर्‍यो ।

 

प्रकाशित : 28 July, 2024

प्रतिक्रिया दिनुहोस्