नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बन्न सफल
काठमाडौं । साउन १३, नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बन्न सफल भएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ ।
एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।
आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेतापनि अब निर्यातको परिमाण बढ्दै जाने बताए ।