लिङ्देनद्धारा सौर्य जहाज दुर्घटनाको छानबिन समितिका सदस्यमाथि प्रश्न

काठमाडौं । साउन १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न गठित समितिका सदस्यमाथि प्रश्न उठाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भनेर प्रश्न उठाएका हुन् ।
एउटै व्यक्तिलाई पटक–पटक छानबिनको जिम्मेवारी दिने गरिएको भनेर पनि उनले सरकारमाथि प्रश्न उठाए ।
विमानलाई सी–चेकका लागि पोखरा नै लैजानु पर्ने कारण समेत थाहा हुन नसकेको बताए । काठमाडौँमा सी–चेक हुन सक्ने हो कि होइन ? भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।
गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।
विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।