बेचन झासँग दोहोरो नागरिकता रहेको प्रमाण फेला

सहयात्रा टिभी

काठमाडौं । साउन १४, नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो ।

झाको नागरिकतामा उल्लिखित विवरणअनुसार उनले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज लेखिएको छ ।

भारतको मतदाता सेवा पोर्टलमा उनको उमेर ६४ उल्लेख छ भने मतदान केन्द्र मरुकिया प्राथमिक स्कुल भएको उल्लेख छ । विस्तृत विवरणमा उनको आफन्तको नाममा दुखनमोचन झा उल्लेख छ । २०६३ सालमा लिएको नेपाली नागरिकताको प्रमाण–पत्रमा दुखमोचन झा उनको बुबा भएको उल्लेख छ । झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले पक्राउ गरेर १५ असारमा काठमाडौं ल्याएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बेचन झाको  जन्म भारतमै भएपनि लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आएको देखिन्छ ।

प्रकाशित : 29 July, 2024

प्रतिक्रिया दिनुहोस्