केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ मनाउँदै

सहयात्रा टिभी

काठमाडौं । साउन १५, कोदोलाई नेपालको रैथाने खाद्य बाली हो । आज साउन १५ गते नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ ।

कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि मन्त्रालयले जनाएको छ ।

मुलुकका ७७ जिल्लामा कोदो खेती गरिएको पाइए पनि यो उत्पादनका हिसाबले अत्यन्तै कम छ । नेपालमा सबैभन्दा धेरै यसको खेती हुने जिल्ला खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली हुन् ।

कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जिन सक्ने भए पनि यसको व्यावसायिक उत्पादन हुन नसकेको कृषि मन्त्रालयका अधिकारीहरू स्विकार्छन् ।

तर, कोदो नेपालको रैथानै बाली भनिरहँदा नेपालले करोडौंको आयात गरेको तथ्यांक भेटिन्छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा मात्रै १ करोड ५२ लाख ९२ हजार किलो अर्थात् ७५ करोड ४१ लाख रुपैयाँको कोदो आयात भएको छ ।

यस्तै कोदोको बिउ २ लाख २८ हजार रुपैयाँ बराबर आयात भएको छ । यसो त नेपालले कोदो आयात मात्रै नभई निर्यात पनि गर्छ, तर थोरै मात्रामा ।

गत आव नेपालले आठ देशमा कोदोको बिउ निर्यात गरेको थियो । यसले नेपाली कोदोको बिउ अस्ट्रेलिया, हङकङ, जापान, क्यानडा, इटाली, कोरिया, अमेरिका, वेलायतमा निर्यात भएको देखिन्छ ।

जसमा सबैभन्दा धेरै दक्षिण कोरियामा २८ लाख ६५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । यस्तै अस्ट्रेलिया, हङकङ र कोरियालाई थोरै भए पनि कोदो निर्यात गरेको देखिन्छ ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार यसरी कोदो निर्यात हुनु नेपाली बिउको विश्व बजारमा माग रहेकाले नमुनाका रूपमा गइरहेको हो ।

 

प्रकाशित : 30 July, 2024

प्रतिक्रिया दिनुहोस्