सैनिक कलेजमा एमबीबीएस पढिरहेका राजेश करिब तीन वर्षदेखि बेपत्ता
काठमाडौं । साउन १५, नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी अहिलेसम्म फेला परेका छैनन् ।
सानोभर्याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय राजेश शाही १७ भदौ २०७८ मा बेपत्ता भएका थिए ।
उनको खोजीका लागि परिवारले जंगीअड्डा, नेपाल प्रहरीदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्म गुहारेपनि हालसम्म केही पत्ता लागेको छैन ।
बेपत्ता राजेशका बुबा दानबहादुर शाहीले उनको खोजीका लागि पहल गरिदिन भन्दै प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रधानमन्त्री, सभामुख र चारवटै दलका सचेतकसम्मलाई पटकपटक गुहारिसके ।
तर अहिलेसम्म केही पत्ता लागेको छैन । ‘पेन्सन र बैंकमा सुरक्षागार्डको काम गरेर आएको पैसा जति सबै कलेजमा बुझाएको थिएँ, नपुगेर श्रीमतीको पसल चलाइयो, ऋण समेत गरियो’, शाहीले भने, ‘अहिले न छोरो छ न त धनसम्पत्ति ।’
सैनिक कलेजको होस्टलबाट राजेशले अन्तिम पटक १६ भदौ २०७८ को राति ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतमा रहेकी आमा कृष्णा शाहीलाई फोन गरेका थिए ।
आफूले १६ वर्ष जागिर खाएको नेपाली सेनामा कार्यरत उच्च अधिकृतहरुसँग छोराको खोजी गरिपाउँ भन्दा पाएको रुखो व्यवहारप्रति उनी असन्तुष्ट छन् ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी भने शाहीको खोजीका लागि नेपाल प्रहरीलाई संलग्न गराइएको बताउँछन् । ‘यो अलि पहिलेकै घटना हो, उहाँको खोजी गरिदिन भनेर प्रहरीलाई पत्राचार गरेका थियौं’, उनी भन्छन्, ‘अहिले पनि के प्रगति भएको छ भनेर पत्र पठाइराख्छौं, तर उपलब्धी हात लागिसकेको छैन ।’
बुबा दानबहादुरका अनुसार सेनाले त्यो भिडियो उनीहरुलाई पनि देखाएको थियो । ‘पछाडि मात्र देखिने खालको छ, त्यो मेरो छोरा होइन’ उनले दाबी गरेका छन् ।
२४ घण्टा निगरानी र सुरक्षा घेरामा हुने सेनाको होस्टलबाट बच्चा आफूखुशी गयो भनेर अधिकृतहरु पन्छिएको भन्दै परिवारका सदस्यहरुले प्रश्न गरेका छन् । शाही भन्छन्, ‘सेनाको कलेजबाट एउटा विद्यार्थी आफूखुशी त्यति राति कसैको जानकारीबिना बाहिर निस्कियो भन्ने जवाफ कति गैरजिम्मेवार छ ?’