निर्वाचन आयोगले मुकुल ढकालको निवेदनमा तत्कालै निर्णय नदिने

सहयात्रा टिभी

काठमाडौं । साउन १७, राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट निष्कासन गरेपछि मुकुल ढकालले निर्वाचन आयोगमा दिएको निवेदनमा तत्कालै कारबाही अघि नबढ्ने भएको छ ।

२५ असारमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्रीबाट निष्कासन गरेपछि ढकालले १३ साउनमा उक्त कारबाही विधिसम्मत नभएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रवक्ता रघुराम विष्टका अनुसार अहिलेसम्म निर्वाचन आयोगको विवरणमा रास्वपाका महामन्त्रीमा ढकाल नै छन् । ढकाललाई कारबाही गरेपछि पदाधिकारीमा भएको हेरफेरको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा पत्र पठाइसकेको छैन ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ मा दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य विषयको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने व्यवस्था छ ।

रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले कानुनले तोकेको समयभित्रै निर्वाचन आयोगलाई केन्द्रीय समितिको निर्णय जानकारी गराउने बताए ।

 

प्रकाशित : 1 August, 2024

प्रतिक्रिया दिनुहोस्