कांग्रेसको राजीवविक्रम कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै

काठमाडौँ। साउन १८, नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ ।
नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।
बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जाने निश्चित भएको कांग्रेस प्रमुख सचेतक विष्टले बताए ।
शीर्ष नेताहरूले सरकारमा जाने मन्त्रीहरूको नाम पठाएपछि मुख्यमन्त्रीलाई बुझाइने विष्टले बताए । कांग्रेस नेता जीवनबहादुर शाही र उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीका लागि अन्तिम नामावली पठाउने छन् ।
जाजरकोटबाट निर्वाचित सांसद राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने स्रोतको दाबी छ । दैलेखका सांसद घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा मन्त्रीका मुख्य दाबेदार हुन् ।
शाह नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाले वरिष्ठताका आधारमा उनकै नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो ।