बाढीले अटोरिक्सा बगाउँदा हराएका एक जना मृत भेटिए

सहयात्रा टिभी

दाङ । साउन १९, दाङको बेचनी खोलाले अटोरिक्सा बगाउँदा हराएका दुई जनामध्ये एक जना मृत भेटिएका छन्।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले गए राति बगाएको थियो। अटोरिक्सामा सवार स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का बगेका थिए।

शनिबार बिहान सीता आलेको शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठाकुरप्रसाद पोख्रेलले बताए। आलेको शव ग्वारखोलामा भेटिएको हो। त्यस्तै, आलेसँगै बगेकी मञ्जु खड्का भने हराइरहेकी छन्। उनको खोजी भइरहेको डीएसपी पोख्रेलले बताए।अटोरिक्सामा पाँच जना सवार थिए। चालक हरिकिशन विक र अन्य दुई जना यात्रु सकुसल रहेका छन्।

त्यस्तै, दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गए राति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ। बाढीले बगाएका तुलसीपुर-७ प्रसेनीका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले बताए। अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो।

 

प्रकाशित : 3 August, 2024

प्रतिक्रिया दिनुहोस्