स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित

काठमाडौं । साउन २०, स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । बोर्डका कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि कामकाज ठप्प पारेका हुन् ।
बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाल करारका कर्मचारीहरू माथि दुर्व्यहार गर्दै आएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेका कारणले कर्मचारीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन् ।
बोर्डका अधिकांश कर्मचारीले कार्यकारी निर्देशकलाई साउन ३ पत्रमा लेख्दै १५ दिनभित्र रिजालको काजफिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
शुक्रबार बोर्डका कर्मचारीले एक प्रेस विज्ञप्ति जारी गर्दै रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गर्ने, जागिर खाइदिन्छु भनी धम्काउने, अपशब्द बोली कर्मचारीलाई मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।
बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न बन्द भएको छ । रिजाललाई यसअघि पनि बोर्डले कारबाही गरेको थियो ।
२०७० बैशाखमा हालकै कार्यकारी निर्देशक डा.दामोदर बसौलाले रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए । तर भएको केही ११ महिनापछि रिजाल बोर्डमा कामकाजमा आएका थिए ।