कर्णाली सरकारमा आज कांग्रेसका चार मन्त्रीको शपथ

काठमाडौं । साउन २०, कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आइतबार दिउँसो २ बजे हुने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका चार जना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।
सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् । नवनियुक्त मन्त्रीहरूले आजै शपथ लगतै पदभार ग्रहण गर्ने छन् ।