खालिफको लैंगिकतामाथि नै प्रश्न उठेपछि स्पष्टिकरण : म महिला नै हो
काठमाडौं । साउन २०, पछिल्लो समय पेरिस ओलम्पिक २०२४ मा बक्सिङ खेलमा भएको लैंगिक विवाद चरम सीमामा पुगेको छ ।
२५ वर्षीया अल्जेरियन बक्सर इमानी खालिफ इटालियन बक्सर एन्जेला करिनीलाई ६६ केजी तौल समूहको खेलमा ४६ सेकेन्डमा नै हराएपछि उनको लैंगिकतामाथि नै प्रश्न उठाइएको छ ।
खालिफ ‘ट्रान्सजेन्डर’ भएको आरोप लगाइएको छ। उनको शरीरमा पुरुषको शरीरमा पाइने टेस्टोस्टेरोन पाइएको थियो ।
२०२३ मा भारतमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा उनी लैंगिक विवादकै कारण आइबीएले पुरुषमा हुने ‘एक्सवाई क्रोमोजोम’ भेटिएको भन्दै उनलाई प्रतियोगितामा महिलाको रुपमा प्रतिस्पर्धा गर्नबाट रोक लगाएको थियो ।
उनी उक्त प्रतियोगिताबाट महिलाको विद्यामा खेल्न अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् । उनी मात्रै होइन, ताइवानकी लिन यू–टिङ पनि पुरुषमा पाइने हर्मोनहरु बढी भएका कारण पूर्णतः महिलाको क्याटगोरीमा सहभागी हुन पाएकी थिइनन् ।
तर, यो पालि यी दुवै खेलाडी पेरिस ओलम्पिकमा सहभागी छन् । त्यही क्रममा शनिबार खालिफले हंगेरीकी अन्ना लुका हमोरीलाई पराजित गर्दै कम्तीमा पनि आफ्नो तौल समूह (६६ केजी) मा कांस्य जित्ने पक्का गरेकी हुन् ।
यो जितसँगै उनले पत्रकारसँग बोल्दै भनेकी छन्, ‘म यो पदक पूरै विश्वलाई समर्पित गर्न चाहन्छु, पूरै अरबलाई समर्पित गर्न चाहन्छु र भन्न चाहन्छु, अल्जेरिया अमर रहोस् ।’
यसै सिलसिलामा खालिफलाई उनको लैङ्गिकताबारे पनि प्रश्न सोधिएको थियो । जसको जवाफमा उनी भन्छिन्, ‘म पूरै विश्वलाई भन्न चाहन्छु कि म महिला हुँ । र महिला नै रहनेछु ।’
खालिफले तीन राउन्डमा तीनवटै राउन्डमा जित हात पारेकी हुन् । पाँच जनाको निर्णायक टिमले उनलाई हरेक वाउटमा १०–९ को अंक दिए । दोस्रो राउन्डमा भने एक निर्णायकले उनलाई १०–८ अंक दिएकी थिइन् ।