गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण गर्न पूर्वतयारी सुरु

काठमाडौं । साउन २०, चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ ।
भरतपुर महानगरपालिका–१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो । अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो ।
रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याइसकेको छ ।
निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीका अध्यक्ष विकास गौतमले जानकारी दिए ।
उनले महानगरपालिकाबाट प्राप्त नक्सा र डिजाइनको अध्ययन भइरहेको र अर्को हप्ताबाट सिमेन्टको काम सुरु गर्ने बताए । काम हेर्न तथा सल्लाह दिनका लागि भारतको कलकत्ताबाट विज्ञलाई नेपाल बोलाएको गौतमले बताए ।
सुरुमा बाँकी रहेका पिलर भर्ने तथा प्याराफिट ढलानका कामहरु अगाडि बढाउने गौतमले जानकारी दिए । आवश्यक निर्माण सामग्रीहरु उपलब्ध गराउने सव कन्ट्याक्टरहरुसँग छलफल भइरहेको उनले गौतमले बताए ।
केही दिनअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल तथा प्राविधिकसहितको टोलीले निर्माण कम्पनीका प्रतिनिधिसहित रंगशालाको अनुगमन गरेर यथाशक्य छिटो निर्माणको काम सुरु गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका थिए ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्न लागेको रंगशालामा १५ हजार दर्शक अट्ने प्याराफिटसहित ५ वटा पिच बनाइँदैछ ।निर्माणस्थलमा सहजीकरणका लागि महानगरपालिकाको एक कार्यालय पनि त्यहीँ रहनेछ ।