ओलीद्धारा त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै विद्यार्थी संगठनको विरोध

काठमाडौँ । साउन २१, कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै विभिन्न विद्यार्थी संगठन संयुक्त रुपमा विरोध जनाएका छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियनले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाएका हुन् ।
उनीहरुले ०८१ साउन २२ गतेदेखि देशव्यापी त्रिविका आंगिक क्याम्पसमा विरोध ब्यनर राख्ने, २३ गते त्रिविका पदाधिकारीहरुसँग छलफल र ध्यानाकर्षण गर्ने, २८ गते संयुक्त अन्तर्किया गर्ने जनाएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले साउन १५ गते त्रिभुवन विश्वविद्यालय सभामा उपकुलपति प्राडा केशरजंग बराललाई नीति तथा कार्यक्रम पेश गर्न रोक लगाएका थिए ।
प्रधानमन्त्री ओलीले ग्रेस लिस्टको विवरण स्वीकृत गर्ने र बजेटमाथि मात्र छलफल हुने निर्देशन दिएपछि मंगलबारको सभामा नीति तथा कार्यक्रम बिनै बजेट प्रस्तुत भएको थियो ।
विज्ञप्तिमा अखिल क्रान्तिकारीका पञ्जा सिंह, अनेरास्ववियूका आरती लामा, अखिल समाजवादीका नरेन्द्र सी, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल समाजवादी विद्यार्थी युनियनका नेत्र चपाईं, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका मनिष भट्टराईले हस्ताक्षर गरेका छन् ।