आउँदो सेप्टेम्बरमा ट्रम्प र कमला ह्यारिसबीच प्रत्यक्ष टेलिभिजन बहस हुने
काठमाडौं । साउन २५, अमेरिकी राष्ट्रपति पदका दुई जना उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ ।
अमेरिकी च्यानल एबीसी न्युजले आउँदो सेप्टेम्बर १० मा ट्रम्प र ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पले चुनावअघि डेमोक्र्याटिकका उम्मेदवारसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताउनुभएको थियो ।
यस्तै ह्यारिसले हिजो मिशिगनमा भएको एउटा कार्यक्रममा आफू ट्रम्पसँगको बहसमा सहभागी हुने पुष्टि गर्दै थप बहसका लागि पनि तयार रहेको बताउनुभएको खबरमा उल्लेख छ ।
अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसअघि गएको जुनमा वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच चुनावी बहस भएको थियो । त्यो बहसमा बाइडेन निकै अलमलिनुभएको थियो ।
त्यही कारण पार्टीभित्र र बाहिर उहाँको आलोचना भएपछि उहाँ अन्ततः उम्मेदवार नबन्ने निणर्यमा पुग्नुभएको थियो । त्यसपछि कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्नुभएको हो ।