जर्मनीको राजधानी बर्लिनमा जल संकटसँग जुध्न बनाइँदैछ विशाल इनार

सहयात्रा टिभी

काठमाडौं । साउन २७, जर्मनीको राजधानी बर्लिन शहरको सरकारले बढ्दो तापमान, खडेरी र सडकमा भल बग्ने समस्या समाधान गर्ने उद्देश्यले वर्षाको पानी जम्मा गर्ने उपाय अपनाएको छ ।

त्यसका लागि ठाउँठाउँमा ठूला–ठूला इनार बनाइएको छ । जर्मनीको राजधानी बर्लिन सुख्खा क्षेत्रको रुपमा चिनिन्छ ।

यहाँ हरेक वर्ष गर्मीको बेला पानीको समस्या हुन्छ । वर्षाको बेला ढल फुटेर ओभरफ्लो पनि हुन्छ । यही कारण बर्लिनमा स्पन्जले जसरी पानी सोस्ने र वर्षाको पानी भण्डारण गर्ने उपाय खोजिएको हो ।

यदि आवश्यक परेमा भण्डारण गरेर राखिएको त्यही पानी शुद्धीकरण गरेर उपयोग गर्न पनि सकिन्छ । पानीको समस्या समाधान गर्नका लागि भूमिगत बेसिनहरू बनाइएका छन् ।

यी बेसिनहरुले खेर जाने पानीलाई पार्किङ गरेजस्तै राख्ने काम गर्छन् । वर्षा भएको बेला आसपासका क्षेत्रबाट पानी त्यही बेसिनमा गएर जम्मा हुन्छ । त्यो पानीलाई ट्रिटमेन्ट प्लान्टमा लगिन्छ । त्यहाँ पानी शुद्धीकरण गरेरमात्र नहर वा नदीहरुमा छाडिन्छ ।

बर्लिनमा पानी जम्मा गर्न नौ वटा क्षेत्रमा त्यस्ता बेसिन निर्माण गरिसकिएको छ । तीमध्येको एक माउर पार्कको तल छ । यो पार्क प्रेन्जलाउर बर्ग जिल्लामा घुमघामका लागि लोकप्रिय छ ।

अर्को एउटा सबैभन्दा ठूलो बेसिन निर्माणाधीन छ । यसको आकार माउरपार्कको बेसिनभन्दा दोब्बर ठूलो हुनेछ ।

जमिनमा ३० मिटर गहिरो गोलाकार खाल्डो खनेर बेसिन बनाउने काम जारी छ । क्रंक्रिटबाट निर्माण भइरहेको यो बेसिन सन् २०२६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

यसमा करिब १७ हजार क्युबिक मिटर पानी जम्मा गर्न सकिन्छ । यो ओलम्पिकका सात वटा स्विमिङ पुल बराबरको हुने छ । भारी वर्षा भएर जल प्रवाहमा दबाब परेमा अतिरिक्त पानी यही बेसिनमा जम्मा गर्ने योजना छ ।

 

प्रकाशित : 11 August, 2024

प्रतिक्रिया दिनुहोस्