तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवादमा

सहयात्रा टिभी

काठमाडौं । साउन २७, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवादमा राज्य ठगिन पुगेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले तारागाउँको जग्गा विवादमा राज्य नै ठगिन पुगेको धारणा राखे ।

समितिले आइतबार तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्सका बारेमा छलफल गर्न पर्यटन मन्त्री पाण्डेलाई बोलाएको थियो ।

यो विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर केही निर्देशन आएको उनले बताए । अख्तियारको निर्देशन र संसदीय समितिको निर्देशनसँग नमिल्दा समस्या भएको आफूले सुनेको मन्त्री पाण्डेले बताए ।

छलफलपछि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई तारागाउँ विकास समितिको के कति जग्गा कहाँ कहाँ छ, के कति होटल छन्, जग्गाको प्रयोगको अवस्था के छ, कति कर्मचारी छन्, कति नाफामा छ, समस्या के कस्ता रहेका छन्, समाधानको लागि के कस्ता प्रयास गरिएका छन् भन्नेबारे विस्तृत अध्ययन गर्न र यस सम्बन्धमा स्पष्ट कार्ययोजना बनाएर समितिमा पेश गर्न निर्देशन दिएको छ ।

समिति सभापति राजकिशोर यादवका अनुसार मन्त्रालयले विस्तृत अध्ययन गरेर कार्ययोजना पेश गरेपछि समितिमा थप छलफल हुनेछ ।

प्रकाशित : 11 August, 2024

प्रतिक्रिया दिनुहोस्