अवैध रहेका क्रसर उद्योगहरूको नवीकरण गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं । साउन २८, मापदण्ड विपरीत चलिरहेका क्रसरहरू नवीकरण गराउन व्यवसायीले राजनीतिक भेटघाट थालेका छन् ।
सोमबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालको मापदण्डअनुसार अवैध रहेका क्रसर उद्योगहरूको नवीकरण गर्ने व्यवस्था गर्न माग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपाने सहितका प्रतिनिधि मण्डलले भेट गर्दै दर्ता भएको ७०० क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।
वातावरण सम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ ।
महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिएर पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।