कोशी प्रदेशसभा बैठक बजेट पास भएपछि अनिश्चित

सहयात्रा टिभी

काठमाडौं । साउन २९, कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।

१ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए ।

बजेट पास भएलगतै राजनीतिक समीकरण परिवर्तन भएका कारण प्रदेशसभा बैठक अनिश्चित भएको हो ।

केन्द्रमा समीकरण फेरिएसँगै बजेट बनाउँदा सरकारमा रहेको माओवादी केन्द्र अहिले सरकार बाहिर छ ।

तर समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रले प्रदेशसभा बैठक सुरु भएपछि सरकारको समर्थनबारे निर्णय गर्ने बताएको थियो ।

तर सरकारले प्रदेशसभा बैठक बोलाउन रुचि नदेखाएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आरोप लगाए ।

सरकारले गैरजिम्मेवार ढ‌ंगले काम गरेको बताउँदै उनले बैठक अघि नै समर्थन फिर्ता लिने तयारी भइरहेको उनले बताए ।

सभामुखले पनि प्रदेशसभा बैठक चलाउन आट नगरेको बताउँदै उनले संसद सरकारको छायाँमा परेको बताए ।

प्रदेश निजामति ऐनलाई संसोधन गर्न बनेको विधेयक,तत्कालीन सरकारले ल्याएको अध्यादेश अस्वीकृतसँगै निष्क्रिय रहेका ऐनहरु पुनर्स्थापित गर्ने विधेयक लगायत अत्यावश्यक विधेयकहरु प्रदेशसभामा अलपत्र रहेका कारण तत्काल बैठक बोलाउनुपर्ने उनको माग छ ।

माओवादी केन्द्रका सांसद जीवन आचार्यले पनि दुई तिहाइ बहुमतले संसद थिचिएको आरोप लगाए ।

केन्द्रमा समीकरण फेरिएपछि माओवादी केन्द्र ११ साउनमा सरकारबाट बाहिरिएको थियो । सरकारबाट माओवादी बाहिरिए पनि कांग्रेस अझै सहभागी हुन सकेको छैन ।

 

प्रकाशित : 13 August, 2024

प्रतिक्रिया दिनुहोस्