गुल्मीमा तथ्याङ्क हेर्दा १५९ वटा साना उद्योग एक वर्षमा बन्द
काठमाडौं । साउन २९, गुल्मीमा उद्योग व्यवसाय बन्द गर्नेको संख्या बर्सेनि बढ्न थालेको छ ।
पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा बन्द हुनेमा साना उद्योग र वाणिज्य फर्मको संख्या धेरै छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक ९ वटा, कृषि तथा पशुजन्य ५० वटा, पर्यटनमूलक ६५, सेवामूलक ३८ गरी कुल १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ १८७ प्राइभेट फर्म बन्द भएका छन् ।
गत आर्थिक वर्षमा ७३ वटा नयाँ उद्योग दर्ता र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरेले बताए ।
वाणिज्यतर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । गत आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले जानकारी दिए ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा साना उद्योगतर्फ १३२ वटा बन्द भएका छन् । यो वर्ष वाणिज्यतर्फ १८४ वटा फर्म बन्द भए ।
आव २०७९/८० मा उद्योग दर्ता ११३ वटा र २२६ वटा नवीकरण भएका छन् । वाणिज्यतर्फ ९२ वटा दर्ता र ३६९ वटा नवीकरण भएका छन् । यो आवमा २३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको घिमिरेले बताए ।