त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । साउन २९, त्रिवेणी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो ।

माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन ।

करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । रु छ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन तर्फ बाटो नभएको र नवलपुर तर्फबाटसमेत वाल्मीकि आश्रम पुग्ने बाटो थिएन ।

जसले गर्दा त्रिवेणीस्थित गण्डक बाँध पार गरी भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो । नेपालको धार्मिकस्थल भारतीय बाटो हुँदै जानुपर्दा दुरी र समय धेरै लाग्ने गरेको थियो ।

वाल्मीकि आश्रम र त्रिवेणीलाई झोलुङ्गे पुलले जोडेपछि धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : 13 August, 2024

प्रतिक्रिया दिनुहोस्