मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक फेरि आन्दोलितमा होमिए

काठमाडौं । साउन ३२, बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित बनेका छन् ।
हेटौंडा अस्पताल सञ्चालनसहित फार्मेसी, बिएससी नर्सिङ, बिएससी ल्याबोरेटोरी मेडिसिन र पब्लिक हेल्थ अध्यापन गराउँदै आइरहेको प्रतिष्ठानका ३० जना प्राध्यापक पठनपाठन बन्द गराउने चेतावनी दिएर आन्दोलनमा होमिएका हुन् ।
प्राध्यापकहरुको यो दोस्रो आन्दोलन हो । यसअघि आन्दोलनमा होमिएका प्राध्यापकहरुसँग प्रतिष्ठानले १० मंसिर २०८० मा सहमति गरेको थियो ।
पुरानै सहमति कार्यान्वयनबाट पन्छिरहेको प्रतिष्ठानले हाल प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न १४ साउन २०८१ मा दरखास्त आव्हान गरेपछि प्राध्यापकहरु पुनः आन्दोलनमा उत्रिएका हन् ।
प्राध्यापकहरुले प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न माग गरे । प्राध्यापक कल्याणकारी समिति, प्रतिष्ठानले २९ साउनमा प्रतिष्ठानका कार्यबाहक उपकूलपति तथा शिक्षाध्यक्ष प्राडा सुरेन्द्र शेरचनलाई खुलापत्र लेख्दै माग पूरा नभएको खण्डमा ‘कलम बन्द’ गरी चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
आन्दोलनरत् प्राध्यापकहरु हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । उनीहरुले बिहीबार प्रतिष्ठानको शैक्षिक भवनमा कालो ब्यानर राखेर विरोध प्रर्शन गरेका थिए । ११ भदौभित्र माग सुनुवाई गर्न अल्टिमेटम दिएको समितिले पठनपाठन बन्द गराउने चेतावनी दिएको अध्यक्ष सापकोटा बताउँछन् ।
करिब एकवर्ष अघिदेखि पटक–पटक मौखिक वा लिखितमार्फत् विभिन्न माग प्रस्तुत गरेको र प्रतिष्ठानको तर्फबाट आश्वासन मात्रै पाएको अध्यक्ष सापकोटाले बताए । एकवर्ष अघि प्राध्यापक कल्याणकारी समिति र प्रतिष्ठानबीच भएको सम्झौता कार्यान्वयन गर्न बेवास्ता गरेको उनको आरोप छ ।
सम्पूर्ण प्राध्यापकलाई, आफ्नै प्रतिष्ठानद्वारा ठगिएको र शोषित हुनु परेको अनुभूति हुन् थालेको मागपत्रमा भनिएको छ । ‘प्राध्यापक कल्याणकारी समितिले सम्पूर्ण पुराना मागलाई यथाशीघ्र पूरा गरियोस भन्ने अन्तिमपटक स्मरण गराउन चाहन्छौं,’ पत्रमा भनिएको छ ।
प्रतिष्ठानमा ३० जनाको संख्यामा रहेका प्राध्यापकमध्ये ७ जनाको मात्र स्थायी नियुक्ति भएको र बाँकी सबै करारमा कार्यरत छन् ।
प्राध्यापकहरुले बुधबार कार्यवाहक उपकुलपति तथा शिक्षाध्यक्ष प्राडा शेरचनलाई भेटेर मागबारे छलफल गर्न खोज्दा उनले ठाडै अस्वीकार गरेको अध्यक्ष सापकोटाले बताए । शेरचनले ‘माग पूरा गर्न सक्दिनँ’ भनेर फोन काटेको उनले बताए ।
प्राडा विश्वराज जोशीको ४ वर्षे कार्यकाल सकिएपछि प्रतिष्ठान १५ साउनबाट उपकुलपतिविहीन छ । प्रतिष्ठानको कुलपति बागमती प्रदेश सरकारको मुख्यमन्त्री हुनेछन् । प्रतिष्ठानमा फार्मेसीमा १ सय ५० जना, बिएससी नर्सिङतर्फ ४० जना, बिएससी ल्याबोरेटोरी मेडिसिनमा ७० जना र पब्लिक हेल्थतर्फ ५० जना विद्यार्थी अध्ययनरत् छन् ।
प्रतिष्ठानले २०७८ बाट अध्यापन सुरु गरेको हो । बिएससी नर्सिङको पढाइ भने २०८० बाट सुरु भएको हो ।