सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सहयात्रा टिभी

काभ्रे । भदाै १, सुक्खा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उनको भनाइ छ ।

सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित : 17 August, 2024

प्रतिक्रिया दिनुहोस्