बालेनको गीत गाउँदा सरुवा गरेको आरोप लागेपछि पोखरा महानगरको स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गीत गाउँदा सरुवा गरेको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टीकरण दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो । बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको एक महिला कर्मचारीले आरोप लगाएकी थिइन् ।

एक टेलिभिजन कार्यक्रममा महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेकी थिइन् ।

महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैठौं तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

महानगरका प्रवक्ता मोति तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।

 

 

 

 

प्रकाशित : 19 August, 2024

प्रतिक्रिया दिनुहोस्