पार्टी निर्माणमा जुट्दै रास्वपाको राष्ट्रिय भेला गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, चार महिनामै सत्ताबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी निर्माणमा जुटेको छ ।

प्रचण्ड सरकार ढलेसँगै प्रतिपक्षमा पुगेको रास्वपाले केन्द्रसँगै प्रदेशहरु बन्द कार्यशाला (क्लोज क्याम्प) गरेको छ । अब अर्को महिना राष्ट्रिय भेला गर्ने तयारी छ ।

रास्वपाको विधानमा राष्ट्रिय भेलाको व्यवस्था छैन । महाधिवेशन पछिको सर्वोच्च निकायका रुपमा राष्ट्रिय परिषद् छ ।

विधानमा राष्ट्रिय भेलाको व्यवस्था नभएकाले परिषद्को बैठकमा रुपान्तरण गर्ने गरी भेला गर्न लागिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

१ र २ असोजमा हुने भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने उनी बताउँछन् ।

भेलामा देशभरबाट हजार बढी प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । प्रतिनिधि छनोटको विधि भने टुंगो लागिसकेको छैन ।

भेलाको तयारीका साथै प्रतिनिधि छनोटको विधि लगायतकका विषय टुंगो लगाउन कार्यवाहक महामन्त्री बुर्लाकोटी र दुई सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यलाई जिम्मेवारी दिइएको छ ।

 

 

प्रकाशित : 19 August, 2024

प्रतिक्रिया दिनुहोस्