किस्ट अस्पतालमा ११ दिनदेखि शव नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको आकस्म्कि समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको अपरेशनपछि मृत्यु भएको बताए ।

२१ साउनमा अस्पताल भर्ना भएकी उनको अपरेशन गर्दा अत्यधिक रक्तश्राब भएपछि रगत दिइएको थियो । त्यसपछि पुनः अपरेशन गरेको उनलाई अस्पतालले २६ साउनमा मृत घोषणा गरेको थियो ।

उक्त घटनामा चिकित्सक र अस्पताल प्रशासनको गम्भीर लापरबाही देखिएको सांसद गौतमले बताए । यो घटनाको विरोधमा उनको परिवार र नेपाल मगर संघले आन्दोलन गरिरहेको तर कुनै सुनुवाइ नभएको गौतमको भनाइ छ ।

सांसद गौतमले उक्त घटनाको छानबिनका लागि समिति गठन गर्न माग गरे । यस्तो घटनाले समाजमा राम्रो सन्देश नदिने उल्लेख गर्दै उनले थपे, ‘प्राइभेट मेडिकल कलेजहरु, सरकारी अस्पतालहरु सबैमा नागरिकको जिउधनको सुरक्षा हुनुपर्छ । यो विषयमा नेपाल सरकारको ध्यान जाओस् । तत्काल नै यो घटना कारबाही अगाडि बढाओस् ।’

बर्दियाबाट उपचारका लागि काठमाडौं आएकी महिला गरिब परिवारकी सदस्य रहेको र उनका श्रीमान मोटरसाइकलमा राइड सेयरिङको काम गर्ने गरेको सांसद गौतमले बताए ।

 

प्रकाशित : 22 August, 2024

प्रतिक्रिया दिनुहोस्