मोदी र जेलेन्स्कीबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । भदौ ८, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । शुक्रबार युक्रेन पुगेका भारतका प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ । मोदी र जेलेन्स्कीले रूसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् । करिब डेढ महिना अघि रुसको भ्रमण गरेका मोदी अहिले युक्रेन पुगेका हुन् ।

मोदीले युक्रेनको राजधानी किभमा रहेको राष्ट्रिय सङ्ग्रहालयको पनि भ्रमण गरेका छन् । यस्तै मोदीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।

युक्रेनको राजधानी किभमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री एस जयशङ्करले प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको र आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्ने बताए ।

भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि यो पहिलो हो । जयशङ्करले युक्रेनलाई भारतले दिएको सहयोगबारे पनि चर्चा गरे ।

प्रकाशित : 24 August, 2024

प्रतिक्रिया दिनुहोस्