पर्याप्त प्राविधिक जनशक्ति अभावले डेटा सेन्टर समस्यामा

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, गत १ साउनदेखि सञ्चालनमा आएको सरकारी डेटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्र पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्यामा परेको छ ।

सरकारले केन्द्रमा दरबन्दीअनुसार प्राविधिक जनशक्ति खटाउन सकेको छैन । ३९ जनाको स्थायी दरबन्दीमध्ये ११ जना कर्मचारी मात्रै स्थायी छन् ।

७ जना केन्द्रकै स्वीकृत दरबन्दी कार्यरत हुन् भने ४ जनालाई सूचना प्रविधि विभागबाट खटाइएको महानिर्देशक प्रेमशरण आचार्यले जानकरी दिए ।

केन्द्रले सरकारी डेटाको भण्डारण, सञ्चालन, व्यवस्थापन, प्रशोधन तथा सुरक्षण, साझा कम्प्युटिङ स्रोतहरू, परामर्श सेवा, सरकारी डोमेन दर्ता, इमेल सर्भर, सरकारी नेटवर्क व्यवस्थापन जस्ता संवेदनशील काम गर्छ ।

कोलोकेसन सेवा, भर्चुलाइजेसन, क्लाउड सेवा, वेब होस्टिङ, सफ्टवेयर विकास र जनशक्ति तालिमको जिम्मा समेत पाएको केन्द्रमा अहिले डेटा सेन्टर व्यवस्थापन गर्न पर्याप्त जनशक्ति छैनन् ।

सरकारी संवेदनशील डेटा व्यवस्थापनका सूचना प्रविधिसम्बद्ध सेवा निरन्तर दिनुपर्ने अवस्थालाई सरकारले सम्वेदनशील रुपमा नलिएको केन्द्रकै अधिकारीहरुको अरोप छ ।
यसले गर्दा केन्द्रबाट सेवा लिइरहेका सरकारी कार्यालयहरुले विभिन्न प्राविधिक समस्या सामना गरिरहेका छन् भने देखापरेका समस्या पनि हल हुन सकेको छैन ।

समस्याग्रस्त रहेको केन्द्रमा पर्याप्त प्राविधिक कर्मचारी र विशेषज्ञहरु नहुँदा सर्भरको व्यवस्थापन, सञ्चालन र मर्मतसम्भार थप जटिल बनेको प्राविधिक अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार केन्द्रले करारमा रहेका प्राविधिक जनशक्तिलाई निरन्तरता दिन प्रस्ताव गरेको छ । त्यसका लागि मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने अवस्था छ ।

 

प्रकाशित : 25 August, 2024

प्रतिक्रिया दिनुहोस्