मुग्लिन-आँबुखैरेनी सडक ६ घण्टासम्म पनि खुलेन

काठमाडौँ । भदौ १०, मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि साढे ६ घण्टासम्म पनि खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायले बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताए ।
स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि यात्रुहरु अलपत्र परेका छन् ।
यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । शवहरु संकलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।
बस निकाल्न आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने सूचना जिल्ला प्रशासन कार्यालय तनहुँ र डिभिजन सडक कार्यालयले जारी गरेका थिए । तर दिउँसो १ बजेसम्म पनि बस बाहिर निकाल्न सकिएको छैन र सडक पनि खुलाइएको छैन ।
सडक नखुल्दा सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनहरुलाई आँबुखैरेनी र डम्फिनमा रोकेर राखिएको छ ।
सडक बन्द भए पनि विरामीहरुलाई मर्का नपरोस् भनेर सडकका दुवैतर्फ एम्बुलेन्सहरु राखिएका छन् । यदि कोही बिरामी भए उनीहरुलाई वारिपारि गराएर अस्पतालसम्म पुर्याउन सकियोस् भनेर एम्बुलेन्सको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।