राजदूतका सम्बन्धमा संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौँ । भदौ १०, राजदूतका सम्बन्धमा संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरेको जानकारी प्राप्त भएको छ ।
प्रस्तावित राजदूतविरुद्धको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार मंगलबार बिहान ११ बजे बैठक राखिएको छ ।
बैठक सिंहदरवारस्थित काठघर नम्बर २ मा बस्नेछ । बैठकको कार्यसूचीमा ‘ विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरु खोली वितरण गर्ने’ रहेको छ ।
गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । निर्धारित समयभित्र ९ वटा उजुरी परेको संसदीय सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
केही व्यक्तिगत र केही सामुहिक उजुरी परेको छ । उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयमाथि प्रश्न समेत उठाइएको छ ।
राजदूत सिफारिस गर्दा किन समावेशीतालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका पनि उजुरी परेका छन् ।