नचाहिँदो बेरूजु पनि भ्रष्टाचार हो : सांसद सोबिता

सहयात्रा टिभी

काठमाडौं । भदौ १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक संसदमा आएर अगाडि बढेकोलाई स्वागत गरेकी छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उनले यस्तो बताएकी हुन् ।

नेपाल सरकारको बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट नेपाल सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्ने विषय स्वागत योग्य नै रहेको उनले बताइन् ।

उनले अगाडि भनेकी छन्, ‘यस विधेयकमा बेरूजु फर्छ्यौटको विषयलाइ प्रस्ताव गरीए भन्दा अझ बढी कडाइ गरी प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।’

कुनै आयोजना वा कार्य गर्नका लागि पेश्की लिने बेरुजु देखाउने र त्यसलाई तोकिएको समयमा फस्र्योट नगर्ने व्यक्ति तथा निकायका पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन ऐनमा स्पष्ट् व्यवस्था गरिनुपर्नेमा जोड दिँदै उनले भनेकी छन्, ‘नचाहिँदो बेरूजु पनि भ्रष्टाचार हो ।’

असार मसान्तमा नक्कली बिल भरपाई बनाइ पेश गर्ने प्रवृति बन्द गर्न वित्तीय हस्तान्तरण अन्तर्गतको प्रदेश तथा स्थानीय तहले खर्च नगरेको रकम संघीय संचित कोषमा फिर्ता गर्ने विषय अझ व्यावहारिक बनाउन आवश्यक रहेको बताइन् ।

देशको सम्पूर्ण सरकारी खर्चको ७०/८० प्रतिशत खर्च फाल्गुन देखी असारसम्म हुने गरेको तथ्यांक रहेको उनले सुनाइन् ।

 

प्रकाशित : 28 August, 2024

प्रतिक्रिया दिनुहोस्