मोटरसाइकल चोर्ने तीन जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । भदौ १३, काठमाडौँको चाबहिल र स्वयम्भूबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट घर भई काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल, मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९० १९ राखी चलाइ रहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसै गरी वास्तविक नम्बर सुदूरपश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ७७ १५ नम्बर राखी चलाइ रहेको अवस्थामा फेला पारी शर्मालाई पनि हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । त्यस्तै सुदूर पश्चिम प्रदेश ०१(००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डढेल्धुराको परशुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बर सिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए ।

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्