यातायात क्षेत्रका समस्या समाधानका लागि महासङ्घद्धारा गृहमन्त्रीलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख गाडीमा १० खर्ब रुपैयाँभन्दा धेरै लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो ।

सडक दुर्घटनाबाट अहिले दैनिक सात जनाको ज्यान जानुका साथै ४० जना घाइते हुने गरेका छन् । उहाँले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भने सडक दुर्घटना न्युनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्न र यात्रुलाई चाडपर्व लक्षित प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

उहाँले दुर्घटना एकदमै बढिरहेकाले सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरी लगायतलाई आउँदो दुईरतीन महिनामा दुर्घटना कम भएको परिणाम देखिनेगरि काम गर्न आग्रह गर्नुभएको छ ।

 

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्