जनशक्ति अभावमा पर्वत अस्पतालमा भेन्टिलेटर र आइसीयू प्रयोगहीन

सहयात्रा टिभी

काठमाडौं । भदौ १९ ,आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् ।

अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् ।

तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

गण्डकी प्रदेश सरकारको एक करोड ६९ लाख रुपैयाँ लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ ।

तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन । पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो ।

तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन ।

१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो ।

त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए ।

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उनको भनाइ छ ।

एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनले बताए ।

 

 

प्रकाशित : 4 September, 2024

प्रतिक्रिया दिनुहोस्