कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको सुनुवाइ

सहयात्रा टिभी

काठमाडौं । भदौ १९ , संसदीय सुनुवाइ समितिले मंगलबार कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको सुनुवाइ गर्‍यो ।

बिहान साढे ११ बजेबाट सुरु भएको सुनुवाइका क्रममा न सांसदले गहकिला प्रश्न गरे, न प्रस्तावित राजदूतले चाहे जति जवाफ दिन पाए ।

करिब डेढ घण्टा चलेको संसदीय सुनुवाइ सुन्दा यस्तो लाग्थ्यो, सांसदलाई कति बेला सुनुवाइको औपचारिकता पूरा गर्ने भन्ने मात्र हतार थियो ।

प्रस्तावित राजदूतलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न सुरुमा २० मिनेट समय दिइएको थियो । लिखित रूपमा तीन पेजको कार्ययोजना पेश गरेका उनले त्यसको व्याख्या गर्न थाले ।

नेपाली कामदारहरूको प्रमुख रोजगार गन्तव्य कतार भए पनि भोलिका दिनमा त्यो अवस्था रहन नसक्ने बताए ।

आफू राजदूत भएर गए कतारबाट नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाए । पोखरा र भैरहवा विमानस्थलमा कतारबाट जहाज उडानका लागि पहल गर्ने र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना पौडेलले सुनाए ।

त्यसपछि पौडेलले थप दुई मिनेट समय मागे । दूतावासको संरचनामा सुधार लगायत कार्य गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि पहल लिने प्रतिबद्धता जनाए ।

 

प्रकाशित : 4 September, 2024

प्रतिक्रिया दिनुहोस्