केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पलेशालाई एनसेलले १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ १९ , पेरिस पारालिम्पिक्स २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

एनसेलले पलेशालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।

एनसेलले गएको वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो ।

यो जीत नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’

एनसेलले गएको वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् ।

 

प्रकाशित : 4 September, 2024

प्रतिक्रिया दिनुहोस्