अग्नि सापकोटा विरुद्धको मुद्दामा संवैधानिक इजलासले फैसला अनिर्णित
काठमाडौं । भदौ १९ , पूर्वसभामुख एवं माओवादी नेता अग्नि सापकोटा विरुद्धको मुद्दामा ‘निर्णय सुनाउने’ मिति पटकपटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला नै अनिर्णित बनाएको छ ।
१२ वैशाख, २०८१ मा पछिल्लोपटक सुनुवाइ गरी डेढ महिनापछि निर्णय सुनाउने मिति तोकेको संवैधानिक इजलासले यसबीचमा पटकपटक मिति सारेको हो । निर्णय सुनाउने मिति दुई पटक सारेर १२ भदौमा अन्तिम पटक मिति तोकिएको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले १२ भदौमा पनि निर्णय दिन सकेन । त्यो दिन ‘निर्णय सुनाउने मिति सरेको’ भनी व्यहोरा उल्लेख गरेको सर्वोच्च अदालत प्रशासनले त्यसपछि नयाँ मिति तोक्न सकेको छैन ।
१९ असोज, २०८१ मा प्रधानन्यायाधीश श्रेष्ठ अवकाश हुदैछन् । सर्वोच्च अदालतले १८ असोजभित्र निर्णय सुनाउन नसकेमा फेरि सुरुदेखि नै मुद्दाको सुनुवाइ गर्नुपर्ने हुन्छ । किनभने इजलासमा रहेका कुनै न्यायाधीशले अवकाश पाएमा मुद्दाको फेरि सुरुबाटै सुनुवाइ हुने गर्छ ।
अवकाश हुनुभन्दा एक महिना अघिदेखि न्यायाधीशहरु इजलासमा नजाने र मुद्दा नहेर्ने प्रचलन छ । यो एक महिनामा प्रधानन्यायाधीश श्रेष्ठले सापकोटा विरुद्धको मुद्दा टुंग्याउन अनिच्छा देखाए भने फेरि मुद्दा सुरुदेखि नै सुनुवाइ थाल्नुपर्ने हुन्छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले ९ असोजका लागि निर्णय सुनाउने गरी पछिल्लोपटक मिति तोकिएको बताए । तर सर्वोच्च अदालतको वेबसाइटमा रहेको पेशी सूची प्रणालीमा भने १२ भदौपछिको मिति अद्यावधिक भइसकेको छैन ।