ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन : आईफोन १६ सार्वजनिक भएको भोलिपल्ट आउने

सहयात्रा टिभी

काठमाडौं । भदौ २० , ह्वावेले आगामी सेप्टेम्बर १० मा विश्वकै पहिलो ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । एक पोस्टरमा ट्रिपल-फोल्ड स्मार्टफोन देखाउँदै ह्वावेले सार्वजनिक मिति खुलाएको हो ।

यसअघि ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिचर्ड यूले ट्रिपल फोल्डिङ फोन बोकेको फोटो सार्वजनिक भएपछि यसबारे रहस्य खुलेको थियो । फोटोमा यूले पूर्ण रूपमा तीन पटकसम्म फोल्ड गर्न मिल्ने फोन प्रयोग गरिरहेको देख्न सकिन्छ, जुन अत्यन्त पातलो देखिन्छ । यसबाट यो फोन सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्सभन्दा पनि पातलो हुनसक्ने अनुमान गरिएको छ ।

यो फोल्डेबल फोन अनफोल्ड भएको अवस्थामा करिब १० इन्चको डिस्प्ले हुने अनुमान छ, जसले यसलाई फोल्डेबल फोनहरूको तुलनामा ठूलो बनाउने छ ।

फोनको स्क्रिनमा होल-पन्च कटआउट सहितको फ्रन्ट क्यामेरा राखिएको छ, जसले यसको डिजाइन अझै आकर्षक बनेको छ । फोनका अन्य विशेषता के-कस्ता हुन्छन् भनेर पनि धेरैले चासो देखाएका छन् ।

ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक हुनु एक दिन अर्थात् सेप्टेम्बर ९ मा एप्पलले नेपाली समय अनुसार बेलुकी १०:४५ मा​ आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ । ह्वावेले यही मेसोमा स्मार्टफोन पारखीहरूको ध्यान आफूतिर खिच्न खोजेको छ ।

ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सुरुमा चिनियाँ बजारमा मात्र उपलब्ध हुने बताइएको छ । त्यसपछि अन्य बजारमा पनि विस्तार हुने संभावना छ । यद्यपि, अमेरिकासँगको व्यापार प्रतिबन्धका कारण यो फोनमा गुगलका एपहरू उपलब्ध हुने छैनन् ।

प्रकाशित : 5 September, 2024

प्रतिक्रिया दिनुहोस्