देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । भदौ २१, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर नै वर्षा भएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बुलेटिनमा उल्लेख छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
निरन्तर पानी परिरहँदा माटो कमलो हुने भएकाले पहिरो र कटानको जोखिम हुने हुँदा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएसमार्फत् सूचना पठाइएको छ ।
पश्चिम राप्तीको जलाधार क्षेत्र प्युठानको लुङ्ग्री र नारायणी नदीको जलाधार क्षेत्र बागलुङको मंगलघाट केन्द्रमा बाढीको स्तर चेतावनीको तहसम्म पुगेको छ ।
आज बिहान दुई बजे रुपन्देहीस्थित तिनाउ नदी जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको थियो । यसैगरी कपिलवस्तुस्थित कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा पनि बाढी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।