आज निजामती सेवा दिवस : १० उत्कृष्टसहित ४० जना कर्मचारी पुरस्कृत हुँदै (सूचीसहित)
काठमाडौं । भदौ २२, आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
सरकारले सधैंझै यो वर्ष पनि दिवसका अवसरमा कर्मचारीलाई सम्मान गर्दैछ । दिवसका अवसरमा १० जना उत्कृष्टसहित ३० जना कर्मचारी सम्मानित हुँदैछन् ।
यो वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी भने छनोट गर्न सरकार असफल भएको छ । १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई , बुनु राना र निलबहादुर पुर्जा मगर रहेका छन् ।
यसैगरी ५० हजार राशीको निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा ३० जना रहेका छन्। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्ने भएको हो।
हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।
२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।
दिवसका अवसरमा आज सिंहदरबारमा मूल समारोह आयोजना हुँदैछ । सोही कार्यक्रममा पुरस्कार वितरण गरिनेछ ।