होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गरे मूल्यमा तिरेको करको १० प्रतिशत उपभोक्ताले फिर्ता पाउने भएका छन् ।

आन्तरिक राजस्व विभागले विभिन्न तीन प्रकारका सेवामा तिरेको करको १० प्रतिशत उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप फिर्ता दिने निर्णय २१ भदौमा गरेको हो ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा १ मा यसबारे व्यवस्था गरिएको छ ।

विभागका अनुसार मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवामा यो सर्त लागु हुने भएको छ । चमेनागृह (रेस्टुरेन्ट) सेवामा समेत यस्तो कर फिर्ता प्रावधान लागु हुनेछ ।

साथै, सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा समेत अनलाइन भुक्तानी भए १० प्रतिशत कर फिर्ता हुने भएको छ ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बिजक जारी गर्ने करदाता यस प्रणालीमा आबद्ध हुन सक्नेछन् ।

डेबिटरक्रेडिट कार्ड, क्यूआर कोड, मोबाइल जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले भ्याटको १० प्रतिशत रकम उपभोक्ताको खातामा स्वचालित फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

विद्युतीय बिजक सम्बन्धी कार्यविधि बमोजिम विभागमा सूचीकृत विद्युतीय उपकरण र सफ्टवेयर आपूर्तिकर्ताले समेत अब आफ्नो सफ्टवेयरमा सोही अनुसार परिमार्जन गर्नुपर्ने भएको छ ।

प्रणालीमा आबद्ध रहने विक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई भ्याट फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने समेत सर्त राखिएको छ ।

 

 

 

प्रकाशित : 9 September, 2024

प्रतिक्रिया दिनुहोस्