नेप्से परिसूचक ५५ अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौं । भदौ २४, शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार ६ सय ४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।
नेप्से पछिल्लो चार कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो ।
नेप्से यो हप्ताको पहिलो कारोबार दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज तीन सय २७ वटा कम्पनीका दुई करोड १० लाख कित्ता शेयर नौ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।