प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ
काठमाडौं । भदौ २५, प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन् ।
आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान गर्दै जाँदा लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको डिएसपी दाहालले बताए । हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाई दिन्छु भन्दै ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको खुल्न आएको उनले बताए । ‘थप अन्य व्यक्तिहरू समेत ठगिन सक्ने भएकोले त्यस तर्फ समेत अनुसन्धान भइरहेको छ’, उनले भने ।
लोकबहादुरले दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका व्यक्तिहरूलाई ठगी गरेका छन् ।
उनीहरूले विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षण गर्नु पर्नेहरूको पहिचान गर्दै तीनका आफन्तहरूबाट पैसा असुल्दै आएका थिए ।
उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा रोखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।