शक्तिशाली तुफानसँगैको बाढी र वर्षाले भियतनाम अस्तव्यस्त

सहयात्रा टिभी

काठमाडौं । भदौ २५, भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।

तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ ।

तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो ।

यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिणी चीन सागर पार गरी पश्चिमी चीनको हाइनान हुँदै शुक्रबार दिउँसो गुआङडोङ पुगेको थियो । चीनको गुआङडोङ प्रान्त हुँदै तुफान भियतनाम प्रवेश गरेको थियो ।

 

प्रकाशित : 10 September, 2024

प्रतिक्रिया दिनुहोस्