उपसभामुखलाई सत्ता गठबन्धनको सन्देश– मार्ग प्रशस्त गर्नु नै उचित विकल्प
काठमाडौं । भदौ २५, सत्ता साझेदार दलहरुको बैठकमा उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाएको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा उपसभामुख रानामगरबारे छलफल भएको हो ।
‘उपसभामुखविरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको छ, हटाउनेबारे छलफल भएको हो’ बैठकमा सहभागी एक नेताले भने । राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध उजुरी परेकाले उनीबारे छलफल भएको ती नेताले बताए ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै संसदमा यो विषय उठ्यो ।
संसद् बैठकमा सांसदहरुले कुरा उठाएको र राज्य व्यवस्था समितिमै उजुरी परिसकेको विषयमा सत्तारुढको बैठकमा छलफल हुनु स्वाभाविक रहेको अर्का एक नेताले बताए ।