जसपामा नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी

सहयात्रा टिभी

काठमाडौं । भदौ २५, जनता समाजवादी पार्टी नेपालको हालै सम्पन्न महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

पार्टीको महाधिवेशनमा महासचिव पदका उम्मेदवार लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले मंगलबार निर्वाचन आयोगमा निवेदन दिंदै विधान तथा निर्देशिका विपरीत काम भएको भन्दै त्यसलाई बदर र छानबिन गर्न माग गरेका हुन् ।

२८ देखि ३० जेठसम्म जनकपुरमा भएको जसपा नेपालको महाधिवेशनबाट कार्यसमितिमा कम्तीमा एक तिहाइ महिला र नेपालको विविधतालाई प्रतिविम्वित हुने गरी आदिवासी, जनजाति, मधेशी, खस क्षेत्री र ब्राह्मण समूह, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसख्यक समुदायका जातीय\सामाजिक समूहहरुवाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु (पदाधिकारी बाहेक) निर्वाचित गर्नुपर्नेमा नगरिएको भन्दै बदर माग गरिएको हो।

त्यस्तै निर्वाचनबाट ४० प्रतिशत युवा केन्द्रीय समितिमा निर्वाचित हुनुपर्नेमा त्यो पनि नभएको उजुरीमा उल्लेख गरिएको छ ।

पार्टीको विधानको धारा ८५९२० तोकिए बमोजिमको योग्यता नभएका, पार्टीमा आवद्ध भएको १ वर्ष पनि पूरा नभएका रामकुमार शर्मालाई महासचिव पदमा, बांके जिल्ला अध्यक्ष मोहमद कमरुदिन राईलाई सचिव पदमा, पार्टीको सदस्य मात्र भएकी सुरिता साहलाई कोषाध्यक्ष पदमा निर्वाचित गर्नु विधान विपरित भएको दाबी गरिएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यमा विधानको धारा ८९३० विपरीत धरान उपमहानगरपालिका सदस्य मात्र रहेका ताजुब लिम्बु लगायत धेरैलाई केन्द्रीय सदस्यमा चयन गरेको पनि उजुरीमा उल्लेख छ ।

 

प्रकाशित : 10 September, 2024

प्रतिक्रिया दिनुहोस्