अब लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने
काठमाडौं । भदौ २५, प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
२० साउनमा सबै प्रदेशका यातायात मामिला हेर्ने मन्त्रीहरु सहभागी बैठकले लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर प्रदेशहरुले नै लाइसेन्स छाप्न तयारी थाल्ने र लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।
उनका अनुसार यो निर्णय प्रदेशका यातायात कार्यालयहरुले आफ्नो अनुकुलतामा क्रमश कार्यान्वयन गर्नेछन् ।
अहिले लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ । सवारी चालक अनुपति पत्रको परीक्षा लिने, सवारी साधनबाट कर उठाउनेजस्ता यातायातसंवद्ध अधिकार प्रदेश सरकारलाई मात्रै छ । २०७४ पछि यातायात व्यवस्था विभाग मातहतका तत्कालीन यातायात तथा लाइसेन्स कार्यालयहरु प्रदेश मातहत हस्तान्तरण भइसकेका छन् ।
प्रदेशका यातायात मन्त्रालयहरुले सेवा सहज बनाउन आआफ्ना प्रदेशमा यातायात तथा लाइसेन्स दिने कार्यालय समेत खोलिरहेका छन् ।
अब ट्राफिक प्रहरीले हातमै उपलब्ध हुने डिभाइसबाट राष्ट्रिय परिचयपत्रमै लाइसेन्स चेक गर्न सक्ने व्यवस्था गर्ने सरकारी तयारी पनि छ । अझ रसिदमै क्युआर कोड राखिएपछि त्यही कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको वैधता जाँच्न पाउनेछन् ।