केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गट्ठाघरमा आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् ।

ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदीप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीहरु चारै जनालाई जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए । उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट प्रहरीले पक्राउ गरेको थियो ।

३१ साउनमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए ।

 

प्रकाशित : 11 September, 2024

प्रतिक्रिया दिनुहोस्