भारतीय फिल्म ‘आदिपुरुष’को विवाद मुद्दाबारे फैसलाको पूर्णपाठ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असोज २, भारतीय फिल्म ‘आदिपुरुष’को विवादबारे दायर मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

फिल्ममा राष्ट्रिय विभूति लगायतका विषय उल्लेख गर्दा सम्बन्धित निकायबाट अग्रिम रुपमा अनुमति लिएर मात्र समावेश गर्ने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।

सर्वोच्चले विदेशमा निर्माण भएको फिल्ममा नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजातिबीचको सुसम्बन्ध, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आघात पुर्‍याउने खालको भएमा नेपालभित्र प्रदर्शनको अनुमति नदिन निर्देशनात्मक आदेश दिएको छ ।

त्यस्तै सार्वजनिक हित, सरोकार तथा सदाचार र नैतिकता प्रतिकूलका कार्यलाई बढावा दिने एवं लैंगिक हिंसालाई प्रश्रय दिने प्रकृतिका भए नभएको जाँच गरी फिल्मको मूल स्रोतमा नसच्चिएसम्म त्यस्ता सामग्री नेपालभित्र प्रदर्शन अनुमति नदिन भनिएको छ ।

आदेशमा नेपालको मित्रराष्ट्रहरुमा निर्माण हुने तथा नेपाल एवं विदेशमा प्रदर्शन हुने फिल्ममा नेपालको विभूतिबारेको दृश्य समावेश गर्दा त्यस विषयको आधिकारिता सम्बन्धमा पुष्टि हुने गरी र यकिन विवरण समावेश गरी आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय र कुटनीतिक नियोगमार्फत मित्रराष्ट्रका चलचित्र जाँच सम्बन्धी केन्द्रिय निकायमा आवश्यक समन्वय गर्न सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय चलचित्र जाँच समितिको नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।

सर्वोच्चले पूर्णपाठ मार्फत फिल्म निर्माण गर्दा आगामी दिनमा विश्वमा भइरहेको सूचना र प्रविधिको विकासको कारण पुनः यस प्रकारको विवाद आउन सक्ने सम्भावनातर्फ सचेत पनि गराएको छ ।

 

 

प्रकाशित : 18 September, 2024

प्रतिक्रिया दिनुहोस्