सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशी पक्राउ

सहयात्रा टिभी

काठमाडौं ।असोज ६ , सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

संयू थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदन अनुसार, जीवी राई र छविलाल जोशीको आधा(आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसभन्दा अघि नै उनीहरुले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । पछि उनले बयानमा खुलाए अनुसार, आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैंया ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । बीरगञ्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैंया ऋण लिएका थिए ।

पछि भने मनमुटाव भएपछि जोशी गोर्खा मिडियाबाट अलग भएका थिए ।

सहकारी छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानून अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

 

प्रकाशित : 23 September, 2024

प्रतिक्रिया दिनुहोस्